Logo
Logo

जेनजी समूहले अगाडि सारेका व्यक्तिलाई सरकार प्रमुख बनाउन कांग्रेस तयार छ : गगन थापा


1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी समूहले अगाडि सारेका व्यक्तिलाई नै अन्तरिम सरकारको प्रमुख बनाउन कांग्रेस तयार रहेको बताएका छन् । महामन्त्रत्री थापाले शुक्रबार एक भिडियो सन्देश जारी गर्दै जेनजी समूहले राखेको मागलाई सम्मान र सम्बोधन गरेरमात्रै देश अगाडि बढ्न सक्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘जेनजी समूहले अगाडि सारेका व्यक्तिलाई नै अन्तरिम सरकारको प्रमुख बनाउन कांग्रेस तयार छ । जेनजी समूहले राखेको मागलाई सम्मान र सम्बोधन गरेर मात्रै देश अगाडि बढ्न सक्छ ।’

उनले भदौ २३ गते भएको घटनामा पार्टीका तर्फबाट माफी माग्दै भदौ २३ र २४ गते भएका प्रत्येक घटनाको छानबिन हुनुपर्ने बताएका छन् । ‘भदौ २३ र २४ गते घटेका प्रत्येक घटनाको छानबिन हुनुपर्छ । दोषीले कानुनअनुसारको सजाय पाउनुपर्छ,’ थापाले भिडियो सन्देशमा भनेका छन् ।

नियतवश सरकारी संरचनामाथि क्षति गर्नेहरूलाई कानुनको दायरामा ल्याउनुपर्ने थापाले बताउँदै उनले भनेका छन्, ‘तत्काल नयाँ सरकार बनेपछि कांग्रेसको माग रहन्छ– भदौ २३ र २४ दुवै दिनमा भएका अमानवीय जति पनि घटना छन्, क्रुर घटना प्रत्येकको छानबिन र जोसुकै होस् त्यसले कानुनअनुसार कारबाही हुनुपर्छ ।’ उत्तेजना फैलाउने होइन, सबैलाई जोड्न कांग्रेसले पहल कदमी लिने थापाको भनाइ छ ।

कांग्रेस सच्चिने र झन् बलियो भएर उठ्ने भन्दै उनले अब बन्ने अन्तरिम सरकारलाई संविधानसँग जोड्न कांग्रेसले आग्रह गर्ने बताएका छन् । उनले भनेका छन्, ‘२०७२ को संविधानसँग जोडिएन भने अहिलेको सरकारले दिने समाधान स्थायी समाधान हुन सक्दैन । बाटो सजिलो छैन । संविधानसम्मत बनाउन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्