काठमाडौं । सिंहदरबारभित्र गृह मन्त्रालयको निर्माणाधीन नयाँ भवनमा आगामी प्रधानमन्त्रीलाई राख्ने तयारी भइरहेको छ । मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको अध्ययनमा यो विकल्पबारे तयारी गरिरहेको छ ।

अन्य भवन पनि हेर्ने काम भइरहेको छ । अरू कुनै पनि ठाउँ नभेटिएपछि विकल्पको रूपमा निर्माणाधीन गृह मन्त्रालयको नयाँ भवन प्रयोग गर्ने तयारी भइरहेको हो ।
बुधवार आन्दोलनकारीको निसानामा परेको सिंहदरबारमा अहिलेसम्मकै ठूलो आक्रमण भएको थियो । सोही क्रममा यहाँ सबैजसो भवनमा आक्रमण र आगजनी गरिएको छ ।
मुख्यसचिव अर्यालले प्रधानमन्त्री र मन्त्रीहरू आइसकेपछि कहाँ-कहाँ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे हेर्ने काम गरिरहेका छन् । सिंहदरबारबाटै प्रशासनिक काम गर्ने तयारी स्वरूप सो कार्य भइरहेको हो ।
राष्ट्रपति भवन शीतल निवास अहिले अन्तरिम सरकार गठनको पहल भइरहेको छ । सोमबारबाट सुरु भएको जेनजी आन्दोलन नियन्त्रण बाहिर गएपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसयता देशको सुरक्षा नेपाली सेनाले गरिरहेको छ ।
जेनजीहरुले संसद् विघटन गरेर पूर्व प्रधानन्यायाधीश शुशीला कार्कीलाई अन्तरिम सरकार नियुक्त गर्नुपर्ने माग गरिरहेका छन् । बिहीबार रातभर प्रधानमन्त्रीमा प्रस्तावित कार्की, प्रधानसेनापति सिक्देल र राष्ट्रपति रामचन्द्र पौडलबीच भएको छलफलमा कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति भएको छ । तर, संविधानको कुन धारामा टेकेर प्रधानमन्त्री घोषणा गर्ने भन्ने अन्योल छ ।
संसद् विघटन गर्न राष्ट्रपति सहमत छैनन् । सोही विषयमा आज पनि प्रधानमन्त्रीमा प्रस्तावित कार्की, प्रधानसेनापति सिक्देल र राष्ट्रपति रामचन्द्र पौडलबीच वार्ता भइरहेको छ । वार्तामा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ पनि सहभागी रहेका छन् ।














