काठमाडौं । नेपालले पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ । जेनजी आन्दोलनका क्रममा केपी ओली नेतृत्वको सरकार ढलेपछि अन्तरिम सरकार प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्की बनेकी हुन् । उनी नेपालको पहिलो कार्यकारी प्रमुख हुन् ।

यस अघि महिला देशको सर्वोच्च पदमा पुगे पनि कार्यकारी पदमा भने सुशीला कार्की नै पहिलो महिला हुन् । विद्या देवी भण्डारी दुईपटक राष्ट्रपति बनेकी छन् । तर, नेपालको प्रधामन्त्रीको लामो इतीहासमा सुशीला कार्की कार्यकारी पदमा पूग्ने पहिलो महीला (प्रधानमन्त्री) हुन् । पहिलो महिला प्रधानन्याधीश बनेर इतिहास रचिसकेकी कार्कीले पहिलो महिला प्रधानमन्त्रीको रुपमा पनि अर्को इतिहास बनाएकी छिन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा-६१ अनुसार, कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए । तर, जेनजी आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा-६१ अनुसारको नियुक्तिपत्र पाएकी हुन् ।
नेपालको संविधानको धारा-६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ, जसमा प्रधानमन्त्रीको पद, अधिकार र नियुक्तिको कुनै प्रसंग उल्लेख छैन । संविधानको धारा ६१ (१ र २)मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ ।
राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ अनि संविधानको पालन र संरक्षण गर्ने व्यवस्था पनि सोही धारामा छ ।राष्ट्रपतिले आफ्नो काम, कर्तव्य र क्षेत्राधिकारको विषय उल्लेख भएको धारा अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहीबार रातभर र शुक्रवार भएको जेनजी प्रतिनिधि, शुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलेसहितको वार्तामा अन्तरिम प्रधानमन्त्री कार्कीलाई बनाउने सहमति भएको हो ।
शीतल निवासमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको हो । उनलाई लगतै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । प्रतिनिधिसभा विघटन गर्ने सर्तमा कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति अनुरूप उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन हुने भएको छ ।
त्यसपछि राष्ट्रपति कार्यालयमा बिहीबार राति र शुक्रवार बिहानसम्म चलेको वार्ता निष्कर्षविहीन टुङ्गिएको थियो । दिउँसो समेत कुनै सहमतिको छाँट नदेखिएपछि प्रधानसेनापति अशोकराज सिग्देलले सङ्कटकाल लगाउनुपर्ने अवस्था समेत आउन सक्ने चेतावनी दिएका थिए । साँझसम्म सरकार नबने उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन सङ्कटकाल लगाउनुपर्ने भन्दै उनले कार्कीसमेतलाई ब्रिफिङ गरेका थिए । त्यसमा राजनीतिक दलका कतिपय शीर्ष नेताहरूले समेत सहमति जनाएका थिए ।
यस्तोमा तीव्र दबाबका बीच जेनजीको माग अनुसार नै कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको हो । भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले भदौ २३ गते काठमाडौंसहित देशका विभिन्न सहरमा गरेका प्रदर्शनमा प्रहरी दमनबाट १९ जना युवा मारिएपछि दोस्रो दिन आन्दोलन उग्र बनेको थियो ।
प्रदर्शनकारी तोडफोड, आगजनी र नेता कुटिपटमा उत्रिएपछि भदौ २४ गते बाध्य भएर प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि मुलुक अन्तरिम सरकार गठन प्रक्रियामा अघि बढेको हो ।














