
काठमाडौं । भदौ २३ गतेबाट सुरु भएको जेनजी आन्दोलन नियन्त्रणबाहिर जाँदा देशभरका अधिकांश सरकारी भवनदेखि नेताका घरसम्म ध्वस्त भए ।
आन्दोलनको पहिलो दिन प्रहरी दमनबाट १९ जना मारिएपछि आन्दोलकारीहरुले दोस्रो दिन चारपाँच घण्टाको अवधिमा काठमाडौं उपत्यकासहित देशभर तोडफोड, लुटपाट र आगजनी गरेर विध्वंश मच्चाए ।
जसमा नेपालको मुख्य प्रशासनिक केन्द्र संसद् भवन, सिंहदरबार र सर्वाेच्च अदालत, राष्ट्रपति कार्यालय शीतलनिवास, बालुवाटारस्थित प्रधानमन्त्री निवास तहसनहस भयो ।
त्यतिमात्र होइन, प्रदर्शनकारीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीका नेता र पार्टी कार्यालयमा आगो लगाएर तहसनहस बनाइदिए ।
पहिलो दिनको बर्बर प्रहरी दमनपछि आक्रोशीत बनेका प्रदर्शनकारीले राजनीतिक पार्टीका कार्यालय मात्र होइन, नेताहरूको घर समेत पूर्णरुपमा क्षति पुर्याएका छन् । जसकारण प्रमुख दलका मुखयमुख्य नेताहरु घरबारबिहीन भएका छन् ।
जेनजी प्रदर्शनकारीको निसानामा परेर एमालेको केन्द्रीय पार्टी कार्यालय पूर्ण ध्वस्त भएको छ । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली घरबारबीहिन भएका छन् । जेनजी प्रदर्शनकारीहरुले उनको भक्तपुर बालकोटस्थित निवास, झापा र तेह्रथुमको घर खरानी बनाइदिएका हुन् ।
त्यस्तै एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू गोकर्ण विष्ट, रघुवीर महासेठको घर पनि जलाइएको छ ।
त्यस्तै कांग्रेसको पनि केन्द्रीय कार्यालय पूर्ण ध्वस्त भएको छ । प्रदर्शनकरीहरुले तोडफोड गर्दै आगजनी गरेका थिए । सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित घर पनि आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । उनको घर मात्रै नष्ट भएन, सभापति देउवा दम्पतीमाथै भौतिक आक्रमण भयो ।
प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवा र पत्नी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको अहिले उपचार भइरहेको छ ।
त्यस्तै कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको काठमाडौंस्थित भाडामा लिएको घर जलेको छ । विश्वप्रकाशको त झापाको घर पनि पूर्णरुपमा ध्वस्त भएको छ ।
यस्तै प्रकाशमान सिंहको घर र त्यहाँ पार्किङ गरिराखिएका ४ वटा गाडी, रमेश लेखकको घर पनि आगजनीले ध्वस्त भएको छ ।
जेनजी प्रदर्शनकारीको निसानामा नेकपा माओवादी केन्द्र र पार्टी अध्यक्ष पुष्पकपमल दाहाल प्रचण्ड पनि परे । कोटेश्वरको पेरिसडाँडास्थित केन्द्रीय कार्यालय जलाइएको छ ।
अध्यक्ष प्रचण्डको भाडामा लिइएको खुमलटारस्थित निवास, चार वटा गाडी पूर्णरुपमा खरानी भएको छ । माओवादीका २२ नेताको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको विवरण आएको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवास पनि आगजनीबाट ध्वस्त भएको छ । माधव नेपालको तीन भाइको घरमा आगजनी गरिएको छ । त्यस्तै सम्मानित नेता झलनाथ खनालको डल्लुस्थित निवास पूर्णरुपमा ध्वस्त बनाइएको छ ।
घरमा आगो लगाउँदा खनालकी श्रीमती गम्भीर घाइते भएकी छन् । उनको वर्न अस्पतालमा उपचार भइरहेको छ । वरिष्ठ नेता राजेन्द्र पाण्डेको धादिङमा रहेको निवास तोडफोड र आगजनी भएको छ ।
स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीको गाडी जलाइएको छ । समाजवादीको पार्टी कार्यालय पनि तोडफोड र आगजनी भएको छ ।
त्यसैगरी, यमलाल कँडेल, चेतनारायण आचार्य, गोकुल बास्कोटा, महेश बस्नेत लगायत केन्द्रीय, प्रदेशदेखि पालिकासम्मको नेताको घर आक्रमणकारीले तोडफोड र जलाइदिएका छन् ।
आगजनीले तहसनहस भएपछि ओली, प्रचण्ड, देउवा लगायत कांग्रेस, एमाले, माओवादीका शीर्ष नेताहरू घरबारविहीन भएका छन् । उनीहरू अहिले नेपाली सेनाको उच्च सुरक्षा घेरामा रहेका छन् ।














