काठमाडौं। नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले टुक्रे, तयारी नभएका र राजनीतिक दबाबमा बजेटमा परेका आयोजनाहरू कटौती गरेर करिब एक खर्ब रुपैयाँ स्रोत जुटाउने तयारी गरेका छन्।

पदभार ग्रहणपछि उनले बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेका छन्, जसले आयोजनाहरू फिल्टर गरी प्राथमिकता निर्धारण गर्नेछ।
खनालले सिंहदरबारमा जेनजी आन्दोलनबाट भएको क्षति चाँडै पुनःनिर्माण गर्ने र सार्वजनिक सम्पत्तिको बीमा सुनिश्चित गर्ने बताए।उनले स्रोतको दुरुपयोग नगर्न र सार्वजनिक सम्पत्ति व्यक्तिगत प्रयोजनमा नचलाउन कर्मचारीलाई निर्देशन दिए।
राजस्व वृद्धि र सेवा सुधारका लागि निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने उनको धारणा छ। साथै, आर्थिक सुधार आयोगका सिफारिस कार्यान्वयनमा जाने उनले प्रतिबद्धता जनाए।














