Logo
Logo

वीरगन्ज महानगरले सहिदका परिवारलाई ५ लाख दिने


252
Shares

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले जेनजी आन्दोलनका क्रममा अराजक समूहबाट ध्वस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि चालू आर्थिक वर्ष २०८२/८३ को बजेट संशोधन गरेको छ । शनिवार सम्पन्न १८ औँ विशेष नगरसभाले मेयर राजेशमान सिंहद्वारा प्रस्तुत पुनर्निर्माण प्रस्तावलाई सर्वसम्मत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले बताए ।

The current image has no alternative text. The file name is: birjung.gif

गत भदौ २४ गतेको आन्दोलनमा महानगरको कार्यालय भवन, संरचना र सवारीसाधनमा भएको तोडफोड, आगजनी र लुटपाटबाट १ अर्ब १५ करोडभन्दा बढीको क्षति भएको कर्णले जनाएका थिए । नगरवासीलाई सेवा प्रवाहमा निरन्तरता दिन पुनर्निर्माणलाई प्राथमिकता दिँदै बजेट संशोधन गरिएको हो । 

यसअघि १७ औँ नगर परिषद्ले ३ अर्ब २२ करोड ४८ लाख ४९ हजारको बजेट विनियोजन गरेको थियो । संशोधित बजेटमार्फत नगरस्तरीय पुँजीगत योजना र सामाजिक विकास कार्यक्रमको रकम पुनर्निर्माणमा स्थानान्तरण गरिएको छ । विकासे योजनाहरू स्थगित गरी पुनर्निर्माण, भौतिक संरचना पुनःस्थापना र प्रशासनिक क्षमता अभिवृद्धिमा जोड दिइने भएको छ । साथै, आन्दोलनमा काठमाडौंमा प्रहरीको गोली लागेर शहादत प्राप्त गरेका वीरगन्ज–१२ का असहाब आलमको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि भएको छ । 

प्रतिक्रिया दिनुहोस्