लन्डन । ब्रसेल्स, बर्लिन र लन्डनको हिथ्रो लगायतका प्रमुख युरोपेली विमानस्थलहरू शनिवार “साइबर–सम्बन्धित अवरोध“ बाट प्रभावित भएको जनाइएको छ । अवरोधले चेक- इन र ब्यागेज ड्रप प्रणालीलाई असर गर्दा सेवा प्रभावित भएको सेवा प्रदायक कोलिन्स एरोस्पेसलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

युरोपेली हवाई सेवा प्रदायकहरूले अवरोधको सामना गर्दा उडानमा ढिलाइ तथा उडान रद्द हुने चेतावनी दिए पछि ‘एयरस्पेस फर्म’ ले सम्बन्धित एयरपोर्टहरूका सफ्टवेयरमा साइबर-सम्बन्धित अवरोधको बारेमा सचेत भएको जनाएका छन् ।
अवरोध इलेक्ट्रोनिक ग्राहक चेक-इन र ब्यागेज ड्रपमा मात्र भएकाले म्यानुअल चेक–इन अपरेसनद्वारा सेवा प्रवाह गर्न सकिने कोलिन्स एरोस्पेसले बताए ।
शुक्रवार राति ‘साइबर आक्रमण’को चपेटामा परेपछि ब्रसेल्स विमानस्थलबाट कम्तीमा १० वटा उडानहरू रद्द गरिएको तथा अन्य १७ वटा उडानहरू ढिलाइ भएको विमानस्थलले जनाएको छ ।
ब्रसेल्समा म्यानुअल चेक-इन र बोर्डिङ सेवा सुचारु गरिएको थियो, भने शनिवार उडान गर्ने यात्रुहरूलाई एयरपोर्टमा जानु अघि एयरलाइन्ससँग सम्पर्क गरी उडानको स्थिति जाँच गर्न सूचना जारी गरिएको थियो ।
लन्डनको हिथ्रो एयरपोर्टमा भने चेक-इन र बोर्डिङ प्रणाली पनि ‘प्राविधिक समस्या’बाट प्रभावित भएकाले उडानमा ढिलाइ हुनु सक्ने जनाइएको छ । बर्लिन विमानस्थलको वेबसाइटमा अवरोधका कारण युरोपमा चेक–इनमा यात्रुहरूलाई लामो समय प्रतीक्षा गर्नु परेको जनाएको छ ।











