काबुल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको बगराम एयरबेस फिर्ता चाहेको बताइरहेका बेला अफगान रक्षा मन्त्रालयका एक शीर्ष अधिकारीले आइतबार उक्त अड्डामाथि सम्झौता ‘सम्भव नभएको’ स्पष्ट पारेका छन् ।

राजधानी काबुलको उत्तरमा रहेको बगराम तालिबानविरुद्धको २० वर्ष लामो युद्धमा अमेरिकी सेनाको प्रमुख केन्द्र रहेको थियो । अमेरिकी फौजले त्यागेको चार वर्षपछि ट्रम्पले अफगानिस्तानलाई अड्डा फिर्ता नदिए सजाय दिने चेतावनी दिएको छ ।
उनासी वर्षीय ट्रम्पले आफ्नो ट्रुथ सोसलमा लेखेका छन्, ‘यदि अफगानिस्तानले बगराम एयरबेस निर्माण गर्नेहरूलाई फिर्ता दिँदैन भने, खराब चीजहरू हुन गइरहेका छन् !!!’
यसबारे प्रतिक्रिया दिँदै अफगान रक्षा मन्त्रालयका चिफ अफ स्टाफ फासिहुद्दीन फित्रतले भने, ‘केही मानिसहरूले राजनीतिक सम्झौतामार्फत अड्डा फिर्ता लिन चाहन्छन् । तर अफगानिस्तानको एक इन्च जमिनमाथि पनि सम्झौता सम्भव छैन । हामीलाई यसको आवश्यकता छैन ।’ पछिल्लो विज्ञप्तिमा सरकारको तर्फबाट ‘अफगानिस्तानको स्वतन्त्रता र क्षेत्रीय अखण्डता अत्यन्त महत्त्वपूर्ण छ’ भन्ने चेतावनी दिइएको छ ।
चीनसँगको निकटतालाई ध्यान दिँदै बगराम गुमाएकोमा ट्रम्पले बारम्बार आलोचना गर्दै आएका छन् । बेलायत भ्रमणका क्रममा उहाँले पहिलो पटक अमेरिकाले यसलाई पुनः नियन्त्रण गर्ने विचार सार्वजनिक गरेका थिए ।
अमेरिकी र नाटो सेनाले सन् २०२१ जुलाईमा तत्कालीन राष्ट्रपति जो बाइडेनको कार्यकालमा, तर २०२० मा ट्रम्पले दलाली गरेको तालिबानसँगको सम्झौताअनुसार बगराम छाडेका थिए । यहीँबाट केही हप्तामै अफगान सेनाको पतन भई तालिबान पुनः सत्तामा फर्किएको थियो ।
ह्वाइट हाउसमा पत्रकारहरूले बगराम पुनः कब्जा गर्न अमेरिकी सेना पठाउनेबारे सोध्दा ट्रम्पले भने, ‘हामी यसबारे सार्वजनिक रूपमा कुरा गर्दैनौँ । तर हामी अफगानिस्तानसँग कुरा गरिरहेका छौँ र यसलाई तुरुन्तै फिर्ता चाहन्छौँ । यदि तिनीहरूले गरेनन् भने, म के गर्नेछु भन्ने तपाईँले देख्नुहुनेछ ।’
बगराम अड्डा विगतमा मानव अधिकार उल्लङ्घनको गम्भीर आरोपमा परेको थियो । एम्नेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचले अमेरिकी सेनाले ‘आतङ्कविरुद्धको युद्ध’ अवधिमा बन्दीहरूसँग दुर्व्यवहार गरेको दाबी गरेका थिए ।
यो अड्डा मूलतः सन् १९५० को दशकमा सोभियत सहयोगमा बनेको हो । पछि शीतयुद्धकालीन अमेरिकी सहयोगमा विस्तार भयो र सोभियत कब्जाको समयमा मस्कोले अझ ठूलो बनायो ।
सन् २०१० को वरिपरि अमेरिकी नियन्त्रणमा बगराम सानो सहरकै आकारमा विकसित भइसकेको थियो, जसमा सुपरमार्केटदेखि डेयरी क्वीन र बर्गर किङसम्मका पसलहरू थिए । सन् २०१२ मा राष्ट्रपति बाराक ओबामा र २०१९ मा ट्रम्पसहित धेरै अमेरिकी राष्ट्रपतिहरूले बगराम अड्डाको भ्रमण गरेका थिए ।











