Logo
Logo

भू-उपयोग नियमावली संशोधन गरिने


0
Shares

काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले भू-उपयोग (दोस्रो संशोधन) नियमावलीलाई संशोधन गर्ने निर्णय गरेका छन् । मङ्गलवार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् ।

The current image has no alternative text. The file name is: sinwa.jpg

भू-उपयोग नियमावली बाधक बन्दा विद्युत् लाइन विस्तार र अन्य विकास निर्माणका काममा समेत बाधा पुगेको बताउँदै कित्ताकाट समेत रोकिएकाले यस्तो निर्णय गरिएको बताए । 

उनले भने, ‘मैले पहिलो निर्णयको रूपमा भू-उपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ लाई लाई संशोधन गर्ने भनेर प्रक्रिया अगाडि बढाएका छौँ । अहिले कित्ताकाटहरू रोकिएका छन् । कित्ताकाट रोकिएको कारण विद्युत् ट्रान्समिसन लाइन र अन्य विकास निर्माणका काम पनि रोकिएको अवस्था छ । त्यो समस्याहरू हटाउनको लागि नियमावलीको आवश्यकता देखिएको कारणले संशोधन गर्न गइरहेका छौँ ।’

उनले सहकारी क्षेत्रमा रहेका समस्याहरू समाधान गर्न आफू लागिपर्ने पनि उनले बताए । ‘स्थानीय तहलाई दिइएका अधिकारहरू पनि विभिन्न कारणले रोकिएका छन् । केन्द्रिकृत शासन प्रणालीलाई विकेन्द्रिकृत गरेर स्थानीय तहलाई जबाफदेही बनाउने खालको निर्णय भू-उपयोगसम्बन्धमा गरेका छौँ,’ उनले भने ।

मन्त्री सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका उनी ६५ वर्षे उमेर हदका कारण १४ कात्तिक २०८० मा निवृत्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्