काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहँदा पार्टी नेतृत्वबाट राजीनामा दिनुपर्ने आवाज उठेको छ । मङ्गलवार च:मतीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा सुदूरपश्चिम, कोशी, लुम्बिनी र गण्डकीका प्रदेश सभापतिहरूले लामिछानेले मुद्दाको कानुनी निरूपण नहुँदासम्म सभापति पद छाड्नुपर्ने प्रस्ताव राखेका छन् ।

सुदूरपश्चिमका प्रकाश विष्ट, कोशीका सरिन तामाङ, लुम्बिनीका देवराज पाठक र गण्डकीका राजन गौतमले यो धारणा व्यक्त गरेका हुन् । बागमती, मधेस र कर्णालीका सभापतिहरू भने मौनता देखाएका छन् ।
प्रस्तावमा पाँच जिल्लाका सहकारी ठगी मुद्दाको किनारा नलागेसम्म लामिछानेले नेतृत्व छाड्नुपर्ने उल्लेख छ । बैठकमा भदौ २४ मा लामिछाने नख्खु कारागारबाट हुलदंगका बीच निस्किएको विषय पनि उठेको छ ।
उपसभापति डीपी अर्याल, प्रवक्ता मनिष झा, सांसदहरू गणेश पराजुली र हरि ढकालसहितको टोलीले उनलाई निकालेको घटनालाई लिएर आलोचना भएको छ । प्रवक्ता झाले उक्त कदम गल्ती भएको स्विकार्दै सुधारको प्रतिबद्धता जनाएका छन् ।
लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराधलगायत मुद्दा चलिरहेका छन् । उनी हाल बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा छन् । भदौ २४ मा नक्कली कागजातका आधारमा जेलबाट निस्किए पनि आन्दोलनकारीको दबाबमा पुनः थुनामा फर्किएका हुन् ।
बैठकमा समसामयिक अवस्था, प्रदेश बैठकका विवरण, परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, सङ्गठन र विभाग, आगामी निर्वाचन रणनीति, ऐतिहासिक महाधिवेशन र विविध गरी सात एजेन्डामा छलफल भइरहेको छ ।














