काभ्रेपलाञ्चोक । काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको छ । यो क्षेत्र हरेक वर्ष बर्खायाममा डुबानको समस्याबाट प्रभावित हुँदै आएको छ ।

शुक्रबारदेखिको अविरल वर्षापछि शनिवार उक्त क्षेत्र फेरि डुबानमा परेको हो । पुण्यमाता खोलाको बाढी र खोला अतिक्रमणका कारण साँघुरो हुँदा यो समस्या बारम्बार दोहोरिन्छ ।
ठूलो वर्षा हुँदा खोलाको पानी ओभरफ्लो भएर सडक पूरै जलमग्न हुन्छ । स्थानीय बासिन्दाले गाडी डुब्ने भल पार गर्दै गन्तव्यमा पुग्नुपर्ने बाध्यता हरेक वर्ष झेल्दै आएका छन् ।
अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । विभिन्न राजमार्गहरू अवरुद्ध छन् । सरकारले भोलि र पर्सि सार्वजनिक बिदा घोषणा गरेको छ। मौसम विभागका अनुसार मनसुन अझै दुई दिन सक्रिय रहने अनुमान छ ।














