काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताएकी छिन् । बाढी, पहिरो, डुबान र कटानको जोखिम बढ्दै गएपछि देशवासीका नाममा भिडियो सन्देश जारी गर्दै उनले आवश्यक सहयोग लिन कुनै अप्ठेरो नमान्न आग्रह गरेकी छिन् ।

‘कुनै पनि कार्य गर्दा जोखिमको आकलन गरी सुरक्षालाई प्राथमिकता दिनुहोस् । तपाईँको सुरक्षा हाम्रो मुख्य चिन्ता हो । सहयोग लिन हिचकिचाउनु पर्दैन,’ उनले भनिन्, ‘हामी तपाईँको कठिनाइ र चिन्तालाई बुझ्छौं । तपाईँ एक्लो हुनुहुन्न, राज्यका सम्पूर्ण स्रोतसाधन तपाईँसँग छन् ।’
प्रधानमन्त्री कार्कीले बाढी, पहिरो र डुबानको जोखिम अझै बढ्ने चेतावनी दिँदै नदीहरूको बहाव उच्च सतर्कताको तहमा रहेको र निरन्तर वर्षाले खतराको सम्भावना बढाएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘पहिरोको जोखिम पनि उत्तिकै छ। यस्तो चुनौतीपूर्ण समयमा सबै सरकारी निकायहरू उद्धार र राहतका लागि पूर्ण तयारीमा छन् ।’
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मी, प्रशासनलगायतका निकायहरू २४सै घण्टा आपतकालीन सेवामा तैनाथ छन् । महत्त्वपूर्ण राजमार्ग र पूर्वाधारको निरन्तर निगरानी भइरहेको उनले जनाएकी छिन् । सरकारले प्रतिकूल परिस्थितिमा पनि उच्च मनोबलका साथ नागरिकको सुरक्षाका लागि काम गरिरहेको उनले आश्वासन दिएकी छिन् ।











