काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न सबै सरोकारवालाबीचको सहकार्यलाई वृद्धि गर्नुपर्ने बताएका छन् ।

शनिबार साँझ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले विपद् व्यवस्थापनका लागि सरकार र नागरिकका साथै सामुदायिक एवं व्यावसायिक संस्थाहरूबीच समझदारी विकास हुनुपर्ने बताएका हुन् ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्षसमेत रहेका मन्त्री अर्यालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको स्पिरिटअनुसार काम हुनुपर्ने उल्लेख गर्दै गरे । उनले विपद् जोखिम व्यवस्थापनमा गरिएको निर्देशनको पूर्ण पालना हुनुपर्ने बताए ।
उनका अनुसार, शुक्रबारदेखि भइरहेको भारी वर्षाका कारण हालसम्म मानवीय क्षति भएको छैन । त्यस्तो क्षति शून्य नै होस् भन्ने उद्देश्यले सरकारले काम गरिरहेको उनको भनाइ छ ।
गृहमन्त्री अर्यालले विपद्का बेला आर्थिक उपार्जनको मौका ठानेर फाइदा उठाउने तत्वहरूलाई कडारूपमा निगरानी गर्न मातहतका संयन्त्रलाई निर्देशन पनि दिएका छन् । सुशासनको विषयवस्तु विपद्का बेला अझ महत्त्वपूर्ण हुने मन्त्री अर्यालको धारणा छ ।










