काठमाडौं । लगातारको वर्षा र बाढी–पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग शुक्रबार दिउँसोदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ ।

असोज १७, १८ र १९ गतेको अविरल वर्षासँगैको बाढीपहिरोले काभ्रे र सिन्धुली जिल्लाभित्रका करिब १३ स्थानमा सडक क्षति पुगेको थियो ।
सोमध्ये करिब ४ किलोमिटर सडक खण्ड अस्थायी मर्मतपछि अहिले एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका प्रमुख शुभराज न्यौपानेले जानकारी दिए ।
उनका अनुसार सडक दुईतर्फी सञ्चालन आइतबारदेखि सुरु हुनेछ।
सडक खुलाउन रोशी खोलामा डाइभर्सन निर्माण गरी बगर मिलाउने, खाल्डा पुर्ने र क्षतिग्रस्त भागमा अस्थायी पुनर्निर्माणका काम गरिएको हो । सडक मर्मत कार्य सोमबारदेखि सुरु गरिएको थियो ।
बाढीपहिरोले काभ्रेको चौकीडाँडालाई सबैभन्दा बढी क्षति पुर्याएको थियो ।
त्यसका साथै कटुञ्जे, चारसयबेंसी, चिउरीबास, मङ्गलटार बोक्सीकुना, कालढुङ्गा, पिप्ले माथिल्लो र तल्लो० तथा मान्ती माथिल्लो र तल्लो क्षेत्रमा पनि सडक भत्किएको थियो। सिन्धुलीतर्फ बालुवा, आँपघारी र नेपालथोक झोलुङ्गे पुल नजिक पनि क्षति पुगेको थियो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार बिहान चौकीडाँडा क्षेत्रको निरीक्षण गरेका थिए । उनले मर्मत कार्य तीव्र बनाउन थप जनशक्ति र उपकरण परिचालन गर्न तथा बत्तीको व्यवस्था गरी राति पनि काम सञ्चालन गर्न निर्देशन दिएका थिए ।














