काठमाडौं । ललितपुरको नख्खु कारागारबाट भागेका एक कैदीले ठमेलमा एक युवकको हत्या गरेको खुलेको छ ।

फरार कैदी आकाश मगरले १३ असोजमा सुरज तामाङको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मकवानपुर घर भई मनमैजु बस्दै आएका २५ वर्षीय तामाङलाई ठमेलमा आक्रमण गरी गम्भीर घाइते बनाइएको थियो । उपचारका लागि वीर अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार पुरानो रिसइबीका कारण हत्या भएको अनुमान गरिएको छ । मगर लुटपाट तथा डकैतीको अभियोगमा जेल चलान भएका थिए । उनी २४ भदौमा ‘जेन–जी आन्दोलन’का क्रममा कारागार तोडफोड गर्दै फरार भएका थिए ।
घटनास्थल वरपरको सीसीटीभी फुटेज र अन्य प्राविधिक तथा म्यानुअल अनुसन्धानका आधारमा हत्यामा मगरको संलग्नता पुष्टि भएको प्रहरीको भनाइ छ । तर, उनी हालसम्म पनि पक्राउ परेका छैनन् ।
यसअघि पनि नख्खु कारागारबाट भागेका काभ्रेका सन्तबहादुर तामाङले आफ्नी श्रीमती मनिषा तामाङको हत्या गरेका थिए ।
कैदीहरू ठूलो संख्यामा अझै फरार रहेकाले सुरक्षा चुनौती थप बढेको छ । विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले कारागार व्यवस्थापन विभागसँग फरार कैदीहरूको अद्यावधिक विवरण माग गरेको जनाएको छ ।









