काठमाडौं । नेकपा एमालेको शुक्रबारबाट सुरू ५८औं सचिवालय बैठकमा सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ु‘बादल’, गुरू बराल, महासचिव शंकर पोखरेल, उममहासचिव प्रदीप ज्ञवालीले धारणा राखेका थिए ।
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए । उपाध्यक्ष शाक्यले पार्टीका पुराना नेताहरू सबैले विदा लिनुपर्ने प्रस्ताव राखेकी थिइन् । उनले भनेकी थिइन्– ‘पुरानाले जतिले बिदा लिनुपर्ने प्रस्ताव राख्नुभएको छ, अहिलेकै नेतृत्वले पार्टी अगाडि बढ्न नसक्ने उहाँको निष्कर्ष छ ।’
शाक्यले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएर सहज निकास दिनुपर्ने पनि बताएकी छन् । एमाले बैठकमा शाक्यले ओलीको पहिलोपटक राजीनामा मागेकी हुन् ।
‘भोलिपल्ट सरकार जाँदैछ भन्ने पत्तो भएन । अनि षडयन्त्र भनेर मात्र हुँदैन,’ शाक्यले ओलीलाई भनिन्, ‘नैतिक जिम्मेवारी लिएर तपाईले सहज निकास दिनुस् । अरुलाई अगाडि बढाउनुपर्छ ।’
उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि राजीनामा भन्ने शब्द नै प्रयोग नगरे पनि ओलीको नेतृत्वमा पार्टी आन्दोलन अघि बढ्न सक्दैन र उनले मार्गप्रशस्त गर्नुपर्छ भनेको एक सचिवालय सदस्यले बताए ।
संस्थापन इतर समूहले भने गुरू बरालले बाहेक सबै उपाध्यक्षको मत पार्टी पुनर्गठनकै पक्षमा रहेको बताएका छन् ।
शुक्रबारको बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी पुनर्गठन आजको अहम् प्रश्न भएको बताएका थिए ।
त्यस्तै, उपाध्यक्ष विष्णु पौडेलको धारणा पनि पार्टी आन्दोलनको पुनर्गठन अपरिहार्य रहेको र त्यसका लागि नेतृत्व पुनर्गठनको खाँचो औंल्याएको ती नेताको दाबी छ।









