काठमाडौँ । जेनजी नेपाल समूहले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा भएका अनियमितता र भ्रष्टाचारका सबै घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।

अन्तरिम वार्ता समितिका सहसंयोजक अर्जुन शाहीको नेतृत्वमा जेनजी प्रतिनिधि टोलीले आइतबार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भेटी ज्ञापनपत्र बुझाएको हो।
शाहीले वाइडबडी र लाउडा एयर घोटालासहितका मुद्दामा अदालतले दोषी ठहर गरे पनि कार्यान्वयन नभएकाहरूलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने बताए। साथै, निगमलाई पारदर्शी बनाउन, दुर्गम क्षेत्रमा सस्तो र सहज हवाई सेवा सुनिश्चित गर्न तथा अनावश्यक करार कर्मचारी घटाउन पनि माग गरे। उनका अनुसार माग पूरा नभए निगमका पदाधिकारीहरूले स्वेच्छिक राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्नेछ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले २०४६ सालपछि निगममा राजनीतिक हस्तक्षेप तीव्र रूपमा बढेको स्वीकार गरे। उनले वाइडबडी, लाउडा एयर लगायतका अनियमितता त्यही अवधिमा भएको बताउँदै, जहाज खरिद मात्र होइन ‘ग्राउन्डेड’ जहाज बिक्रीमा समेत अनियमितता भएको खुलासा गरे।
जेनजी समूहले सबै भ्रष्टाचार प्रकरणको स्वतन्त्र छानबिन आयोग गठन गरी ३० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्न र २०४७ सालपछि नियुक्त सबै कर्मचारी तथा पदाधिकारीको सम्पत्ति विवरण २१ दिनभित्र सार्वजनिक गर्न माग गरेको छ।














