Logo
Logo

नर्सरी व्यवसाय प्रवर्द्धनका लागि तिहार फ्लोरा एक्स्पो २०८२ आयोजना हुने


189
Shares

काठमाडौँ । नर्सरी व्यवसायी संघ नेपालले तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नारासहित तिहार फ्लोरा एक्स्पो–२०८२ आयोजना गर्ने भएको छ ।

फूल, बोटबिरुवा र नर्सरी व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यसहित एक्स्पो यही असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म सञ्चालन हुनेछ।

संघका उपाध्यक्ष तथा मेला संयोजक लक्ष्मी महर्जनका अनुसार यस वर्षको एक्स्पोमा गत वर्षको तुलनामा अझ व्यापक सहभागिता हुने अपेक्षा गरिएको छ । उनले नर्सरी व्यवसायको विकास, वातावरणीय आम्दानी र रोजगारी सिर्जनालाई यस एक्स्पोको मुख्य उद्देश्यका रूपमा अघि सारिएको बताए ।

महर्जनले भने, “वनस्पति संरक्षण, पुनःरोपण र दिगो उपयोगका माध्यमबाट मानव र वातावरणबीच सन्तुलन कायम गर्न नर्सरी व्यवसायीको भूमिका महत्वपूर्ण छ । यो केवल व्यापारिक क्रियाकलाप होइन, मानव सभ्यताको संरक्षणसँग पनि जोडिएको विषय हो ।”

उनका अनुसार वनजंगल र जैविक विविधता जोगाउन, हरियाली विस्तार गर्न र जलवायु सन्तुलनमा योगदान पुर्‍याउन नर्सरी व्यवसायले ठूला सम्भावना बोकेको छ।

संघले नर्सरी व्यवसायलाई व्यवस्थित बनाउन राष्ट्रिय नीति, कानुनी संरचना र अन्तर्राष्ट्रिय मापदण्डअनुसार अघि बढाउनुपर्नेमा जोड दिएको छ। साथै गुणस्तरीय बीउ, बिरुवा, वनस्पति संरक्षण र अनुसन्धानमा लगानी बढाउनुपर्ने पनि सुझाव दिएको छ।

राजनीतिक अस्थिरताले व्यवसायी समुदायमा असर पारिरहेको उल्लेख गर्दै संघले यस्तो अवस्थामा सहकार्य, आत्मविश्वास र व्यावसायिक वातावरण निर्माणमा सबैपक्षले सहयोग गर्नुपर्नेमा बल दिएको छ।

प्रतिक्रिया दिनुहोस्