काठमाडौँ । जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक रूपमा देखिने भएका छन् । उनी असोज २८ गते बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी हुनेछन् ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले देउवाको सहभागिताको जानकारी दिएका छन् । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते आफ्नै निवासमा कुटिएपछि लामो समय सार्वजनिक रूपमा नदेखिएका देउवा बैठकमा आउने पक्का भएको हो ।
बैठकमा महाधिवेशन सम्बन्धी एजेन्डा लैजाने सहमति भए पनि महाधिवेशनको मिति तय गर्न भने सहमति जुटाउन सकिएन । सहमहामन्त्री महालक्ष्मी उपाध्यायका अनुसार केन्द्रीय समितिले मिति तोक्ने गरी नियमित महाधिवेशनको एजेन्डा बैठकमा लैजाने निर्णय भएको छ ।
त्यस्तै, बैठकमा निर्वाचन प्रक्रिया र जेनजी आन्दोलनसम्बन्धी विषयहरू पनि एजेन्डा अन्तर्गत छलफलका लागि प्रस्तुत गरिने सहमति नेताहरूबीच भएको छ।














