
काठमाडौं । मधेश प्रदेशमा कांग्रेस र एमालेलाई बाहिर राख्दै नयाँ सत्ता समीकरण बनेको छ । लोसपाका प्रदेश सांसद जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन ५ दलबीच सहमति भएको हो ।
सोनलले प्रदेश प्रमुखलाई भेटेर आज लोसपा ८, जसपा १९, जनमत १३, माओवादी (केन्द्र) ८, नेकपा (एस) ६ सहित ५४ सांसदको समर्थनमा सरकार बनाउने दाबी पेश गर्दैछन् । नयाँ सरकारका लागि दाबी प्रस्तुत गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार अपरान्ह ४ बजेसम्मको समय तोकेकी छन्।
लोसपा नेतृत्वमा बन्ने सरकारमा साना दल राप्रपा, संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि समेट्न गृहकार्य भइरहेको छ । यी तिनै दलका मधेश प्रदेशमा १–१ जना सांसद छन् ।
त्यस्तै तीन दिनदेखि जनकपुरमै बसेर लोसपाका अध्यक्ष महन्थ ठाकुर र जसपाका अध्यक्ष उपेन्द्र यादवले कांग्रेसको नेतृत्वमा एमाले र जनमत मिलेर सरकार बनाउने सहमतिलाई भत्काउँदै मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बनाउन कसरत गरेका थिए ।
कांग्रेसले भने आफ्नो नेतृत्वमा बन्नै लागेको सरकारको समीकरण भत्किएपछि नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालसित बुधबार बिहानदेखि छलफल गरेका छन् । तर, नेपालको दलका ६ जना सांसद कांग्रेस–एमाले गठबन्धनलाई सहयोग गरे पनि बहुमत नपुग्ने देखिन्छ ।











