Logo
Logo

किन बनाइयो खतिवडालाई विशेष सल्लाहकार ?


- दृष्टि न्युज/संवाददाता


सर्वाधिक विवादमा आएका पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेका छन् । मन्त्री भइसकेको व्यक्ति मन्त्री सरहको सुविधामा प्रधानमन्त्रीको सल्लाहकार हुनु सतही दृष्टिकोणले ठिकै होला । तर, पदीय मर्यादाभित्र भने उक्त नियुक्ति कदापि पर्दैन । त्यसमाथि नेपाल सरकारको आर्थिक सल्लाहकार भनेको नेपाल राष्ट्र बैंक हो ।

हुनतः खतिवडालाई वर्षौंदेखि नजिकबाट चिन्नेहरु भन्छन् ‘उनी सियो भएर पस्छन् अनि फालि बनेर निस्कन सिपालु छन् ।’ वामपन्थीको शब्दकोषमा चाकडी, चाप्लुसी र जी हजुर भन्ने शब्द नै हुँदैन । तर, खतिवडा मुखले ती कुराको बिरोध गरेपनि व्यवहारमा लागू गर्न माहिर छन् । गैरराजनीतिक व्यक्तिले पछिल्लो डेढ दशकमा हत्याएको सबै सुविधा र नियुक्ती त्यसैको परिणाम हो ।

प्रधानमन्त्री ओलीले मुलुक र पार्टीभित्र खतिवडा बाहेक अरु कसैले पनि अर्थतन्त्र नजानेको अर्थ लाग्ने गरी काखी च्याप्नुको रहस्य बिस्तारै खुल्दै गएको छ । पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई भन्दाबढी गैरराजनीतिक व्यक्तिलाई च्याप्ने प्रधानमन्त्रीको उद्देश्य पनि आगामी दिनमा उदाङ्गो हुने ठानिएको छ ।

बिहानीले दिउँसोको संकेत गर्छ भनेझैँ खतिवडालाई एकैपटक मालदार मन्त्रालयको जिम्मा दिने, राष्ट्रिय सभाको सदस्य बनाउने, केन्द्रीय समितिको सदस्य बनाउने र विना सांसदको हैसियतमा समेत छ महिनासम्म पुनः मन्त्री बनाउन प्रधानमन्त्रीलाई केले बाध्य बनायो होला ? कुरो प्रष्ट छ, खतिवडाको रणनीतिमा भारतको महाराष्ट्र राज्यका राज्यपाल भगतसिंह कोशियारीको जोडबल र भाजपासँगको सम्बन्धलाई राम्रो बनाउने एउटा प्रमुख कारण हो भनिन्छ । नेपालले नयाँ नक्सा जारी गरेपछि भारतसँग चिसिएको सम्बन्ध राम्रो बनाउन खतिवडा प्रयोग भएको बालुवाटार स्रोत बताउँछ ।

त्यसैगरी, यसबीचमा देखिएको अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसदबाट पारित गराउनुपर्ने बाध्यतामा पनि प्रधानमन्त्रीले खतिवडाको विलक्षण प्रतिभाको उपयोग गर्न खोजेका हुन् । अमेरिकी सरकारलाई सहयोग पुग्नेगरी खतिवडाले एमसीसी सम्झौतामा संसदले अनुमोदन गर्ने कानुनी व्यवस्था हालिदिएका थिए । अहिले त्यहि बुँदा सरकारलाई फलामको च्यूरा बनेकाले प्रधानमन्त्रीले खतिवडालाई जसरी पनि अर्थ मन्त्रालयमा निरन्तरता दिन खोजेको हुन् ।

नेकपाभित्र उत्पन्न पछिल्लो परिस्थितिले प्रधानमन्त्री ओली र खतिवडाको योजना चकनाचुर बनाइदियो । कुनैपनि हालतमा खतिवडा आगामी छ वर्ष राष्ट्रिय सभाको सांसद हुने र अर्थ मन्त्रालयमा निरन्तरता पाउने ढुक्कको वातावरण वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरेपछि तुहिएको थियो । अहिले त्यहि वातावरण तुहाएको रिस फेर्दै गौतमलाई अर्थ मन्त्रालयमा जानबाट रोक्न एकाएक खतिवडालाई मन्त्री सरहको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरिएको सबैलाई जानकारी भइसकेको छ ।

खतिवडाको जगजगीपछि पछिल्लो समयमा नेकपाको सरकारले गर्ने नियुक्तीमा राजनीतिक भन्दा गैरराजनीतिक व्यक्तिहरूको चलखेल बढ्न थालेको हो । बालुवाटारले सचिवालयको बैठक बस्नुअघि नै गत साता राष्ट्रिय सभाकी सांसद तथा राष्ट्रपतिबाट यसअघि खतिवडासँगै नियुक्त विमला पौडेल राईलाई अर्थ राज्यमन्त्री बनाएर प्रधानमन्त्री निवासको सचिवालयमा बस्ने विशेष आर्थिक सल्लाहकारमार्फत् अर्थको साँचो घुमाउने प्रपञ्च रचेको थियो । त्यो पनि एकाएक तुहिएपछि अब गौतम वा महासचिव विष्णु पौडेललाई समेत कुनै हालतमा अर्थ मन्त्रालयको जिम्मा नदिने गरी तानाबाना बुन्न थालिएको संकेत देखिएको हो ।

यता, रक्षामन्त्री ईश्वर पोखरेल अढाई वर्षअघि नै अर्थ मन्त्रालयको जिम्मेवारी लिएर युवराज खतिवडालाई सल्लाहकारमा राखेर काम गर्ने योजना बुन्दै थिए । तर, प्रधानमन्त्रीले सबैलाई चकित तुल्याउँदै खतिवडालाई नै अर्थ मन्त्री बनाएपछि राजनीतिक कोर्ष अन्तै मोडिएको हो । पश्चिमा दातृ निकाय तथा मुलुकहरूलाई खुशी पार्नैको लागि उनलाई अर्थको जिम्मेवारी दिइएको थियो । खतिवडालाई बालुवाटारको वरिपरि राख्दा दक्षिणतर्फबाट समेत खासै अप्ठेरो नहुने निश्कर्षमा उनलाई निरन्तर काखि च्यापिएको बताइन्छ ।

अझै पनि पोखरेलले अर्थमन्त्रीको जिम्मेवारी लिनसक्ने आँकलन बुझेपछि केही साता अघि खतिवडाले वाणिज्य बैंकमा सम्धीको आगो झोसेर छाडिदिएका छन् । पोखरेलका सम्धी उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा आफूले नियुक्त गरेर दोषजति पोखरेलमाथि थोपरिने गरी छताछुल्ला पारिदिए । अहिले सर्वसाधारणमा सम्धीलाई जताततै पोखरेलले नियुक्ती दिएको भन्ने आभाष परेको छ । यहि कारणले पनि पोखरेल अर्थ मन्त्रालयको दाबी गर्ने ठाउँबाट पछि हट्नु परेको स्रोतको दाबी छ ।

उता, बालुवाटारको भित्री समूहमा रहेका पूर्व सभामुख तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग, महासचिव विष्णु पौडेल, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आफूलाई राष्ट्रिय सभामा जानबाट रोक लगाउने काममा सहयोग पुर्याएको आशंका र दुःखेसो खतिवडाले निकटवर्तीहरूसँग पोखेका छन् । त्यस्तो अवस्थामा पनि उनी बालुवाटारभित्रै बसेर आफ्नो दुनो सोझ्याउन लागिपर्नुलाई गम्भीर रूपमा लिनुपर्ने विश्लेषकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्