काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीको राममन्दिरमा बनाइएका अनधिकृत संरचना भत्काएको छ । महानगरपालिकाको टोलिले शुक्रवार सम्पदा क्षेत्र अधिग्रहण गरेर अनधिकृत रूपमा बनाइएको संरचनालाई डोजर लगाएर भत्काएको हो ।

सम्पदा क्षेत्र मिचेर बनाइएका अवैध संरचना भाडामा समेत लगाएपछि महानगरले खाली गर्न भनेको थियो । तर, संरचना यथावत् रहेपछि शुक्रवार महानगरको नगर प्रहरीसहितको टोलीले डोजर लगाएको हो ।
गुठी संस्थानको जग्गा अतिक्रमित गरेर बनाइएका संरचना हटाउन आग्रह गरेपनि नहटेपछि संस्थानले पनि महानगरको सहयोग मागेको थियो । महानगरले टहरमा बस्नेलाई बाहिर निकालेर अस्थायी संरचनालाई हटाएको छ ।
काठमाडौं महानगरपालिकाले बिहीबार नै एक सूचना जारी गरेर अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउने निर्णय अनुसार खाली गर्न चेतावनी दिएको थियो ।
‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको दफा ९७ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने जिम्मेवारी र दायित्व स्थानीय तहको भएकाले यस विपरीत भएरगरेका कार्यहरू सात दिनभित्र हटाइ सहयोग गरिदिन यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ सूचनामा छ ।
महानगर क्षेत्रभित्र र सीमाना जोडिएका काठमाडौं जिल्ला भित्रका सार्वजनिक स्थानको अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना आफैँ नहटाए कारबाही गरी खाली गराउने चेतावनी दिइएको छ ।










