Logo
Logo

प्रचण्डलाई नेतृत्व छाड्नुस् भनेको छु, म पनि बस्दिनँ : नेपाल


1.6k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) लगायतका दलहरूसँग हुन लागेको पार्टी एकता प्रक्रिया गोप्य वा व्यक्तिगत रूपमा नभएको स्पष्ट पारेका छन् ।

The current image has no alternative text. The file name is: madhab-nepal.jpg

शुक्रबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्दै उनले सचिवालय र स्थायी कमिटीको निर्णयबमोजिम वार्ता टोली गठन गरेर औपचारिक रूपमै एकता प्रक्रिया अघि बढाइएको बताए । ‘यो सुटुक्क वा व्यक्तिगत रूपमा भएको एकता होइन । सचिवालय र स्थायी कमिटीको निर्णयअनुसार वार्ता टोली बनाएर नै एकता प्रक्रिया अघि बढाइएको हो,’ नेपालले बैठकमा भने ।

उनले माओवादी केन्द्रसँग मात्र नभई महेन्द्र राय यादव नेतृत्वको समूह र नेत्रविक्रम चन्द ‘विप्लव’ को पार्टीबाट विभाजित एउटा समूहसँग पनि एकता हुने जानकारी दिए । साथै, जनयुद्धका बेला वार्ता टोलीमा रहेका केही व्यक्तिहरू पनि एकता प्रक्रियामा सहभागी हुन इच्छुक रहेको उनको भनाइ छ । ‘माओवादी केन्द्रसँग मात्र होइन, महेन्द्र राय यादवजी, आजै विभाजन भएको विप्लव समूहसँग पनि एकता हुँदैछ । जनयुद्धको वार्तामा बसेका मान्छेहरू पनि पार्टीमा आउन खोज्दैछन्,’ उनले थपे ।

अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लामो समयदेखि नेतृत्व छोड्न सुझाव दिएको पनि खुलाए । साथै, आफू पनि अब नेतृत्वमा नबस्ने र विश्व भ्रमण गर्ने मनस्थिति रहेको बताए । ‘मैले प्रचण्डजीलाई ३६–४० वर्ष भयो, नेतृत्व छोड्नुस् भनेको छु । म पनि संसार घुम्न चाहन्छु, अब नेतृत्वमा बस्दिनँ,’ उनले भने, ‘विप्लवजीलाई हाम्रो ढोका अझै खुला छ । मैले महासचिव बन्नुस् भनेको थिएँ, तर उहाँले मान्नुभएन ।’

प्रतिक्रिया दिनुहोस्