काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जेनजी विद्रोहले अहङ्कारी सत्ता ढालेकोमा खुसी व्यक्त गर्दै विद्रोहीलाई धन्यवाद दिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले माओवादी जनयुद्ध र एकीकृत जनक्रान्तिले पनि गर्न नसकेको काम जेनजीले गरेको बताए । ‘दलालहरूको स्वार्थमा चल्ने संसद् र भ्रष्ट सत्तालाई जेनजीको विस्फोटले ध्वस्त पारिदियो । यो इतिहासमा कहिल्यै नमेटिने राष्ट्रघातको बदला हो,’ उनले भने, ‘वडादेखि माथिसम्म भ्रष्टाचार, ठेक्कापट्टाको लुट, जनतामाथि डण्डाको दमन-हामीले पार लगाउन सकेका थेनौँ । जेनजीले पार लगायो ।’
जनयुद्धमा रगत बगाउनेहरूलाई अपमान गरिएकोमा आक्रोश पोख्दै उनले भने, ‘संविधानमा गणतन्त्र लेखियो, तर जनताको संविधान लेखिएन । जनजाति, मधेसी, महिला, दलितको हक-अधिकारका लागि हामी लड्यौँ, तर सत्ताको सुविधाका लागि कम्युनिस्ट सरकारले नै हामीलाई दुई वर्ष प्रतिबन्ध लगायो ।’ उनले थपे, ‘आवाज उठाउनेलाई जेल, गोली र लाठी चलाउनेलाई पुरस्कार । अब जनताले न्याय पाउने बेला आयो ।’










