काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले शुक्रवारदेखि पूर्णरूपमा बन्द गरेका छन् । विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै सङ्घर्ष समिति, राजनीतिक दल र बाढी प्रभावित स्थानीयले पानी पथान्तरण बन्द गरेका हुन् ।

उनीहरूले माग पूरा नभएसम्मका लागि पानी पथान्तरण पूर्णरूपमा बन्द गरिने बताएका छन् । मेलम्ची नदी हेलम्बुबाट पानी पथान्तरण पछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणको आधारमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिक्री गरेवापतको मूल्यको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने स्थानीयको माग छ ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले पालिकासँगको सम्झौता कार्यान्वनयमा खानेपानी आयोजनाले बेवास्ता गरेको आरोप लगाएका छन् । आयोजनाले स्थानीयसँग पटक-पटक सम्झौता गर्ने गरेको तर, पानी लगिसकेपछि अर्को समस्या नआएसम्म बेवास्ता गर्ने गरेको उनको आरोप रहेको छ । सम्झौता कार्यान्वयन हुनुपर्ने माग हेलम्बुवासीको रहेको छ ।
तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवले सङ्घर्ष समिति र गाउँपालिकासँग २१ असोज २०८१ मा सम्झौता गरेका थिए । सो सम्झौतापछि मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो । स्थानीहरूले बाढी प्रभावितलाई आवश्यक राहत वितरण गर्नुपर्ने र आयोजनाका बोर्ड सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न समेत माग राखेका छन् ।










