काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा मङ्सिर २४ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव भएको छ । केन्द्रीय सदस्य मधु आचार्यले विशेष महाधिवेशनको मङ्सिर २४ गते गर्न प्रस्ताव गरेका हुन् ।

शुक्रवारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले छोटो समयमा अधिवेशन सम्पन्न गर्नेगरी प्रस्ताव प्रस्तुत गरेको जानकारी दिए । उनले भने, ‘नेपाली कांग्रेस को विधान मा व्यवस्था भएको धारा १७ (२) अनुसार मङ्सिर २४ गते जुन दिन मंगला देवी सिंह उहाँको जन्म जयन्ती पर्छ। त्यस दिन बाट सुरु हुने गरेर विशेष महाधिवेशन आयोजना गरौँ ।’
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए । त्यसैलाई टेकेर विशेष महाधिवेशन गर्न सकिने आचार्यको भनाइ थियो ।
बैठकमा उनले भने, ‘चुनावका सम्मुखमा छौँ । धेरै साथीहरूको बीचमा घर्षण पैदा गरेर प्रतिष्ठा स्पर्धा पैदा गरेर त र म भनेर जान जायज पनि छैन । चुनावका तयारीका लागि प्रशस्त समय दिनु छ र चुनावलाई पहिलो प्रायोरिटी बनाएर जानु छ ।’










