काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई देश र नागरिकको सेवा र सुरक्षामा समर्पित रहन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा सञ्चालीत सि.सं. १७ (क) आधारभूत तालिमको दीक्षान्त समारोहमा महानिरीक्षक अर्यालले जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूको सानो गल्तीले व्यक्तिगत मात्र नभई सङ्गठनको छविमा समेत आँच आउने हुँदा हरेक कदममा अनुशासित, विवेकपूर्ण, सम्यमता र जिम्मेवार भई अघि बढ्न समेत निर्देशन दिनएका हुन् ।

दीक्षान्त समारोहमा महानिरीक्षक अर्यालले तालिम सम्पन्न गरेका प्रशिक्षार्थी अधिकृतहरुलाई हार्दिक बधाई दिँदै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरी पुरस्कृत हुने प्रशिक्षार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
उनले सीमित स्रोतसाधनका बाबजुद अहोरात्र खटिई नागरिक जीवनमा रहेकाहरूलाई समर्पित राष्ट्र सेवक बनाउन अथक प्रयास र मेहनतको प्रशिक्षक वर्गको प्रशंसा गर्दै आफ्ना सन्ततिहरूलाई राष्ट्र सेवाको उच्च मार्गमा पु¥याउने सम्पूर्ण अभिभावकप्रति आभार प्रकट गरे ।
महानिरीक्षक अर्यालले आधारभूत तालिमले सम्पूर्ण प्रशिक्षार्थीहरूलाई इमान्दार, कर्तव्यनिष्ठ र सक्षम जुनियर अधिकृतको रूपमा निर्माण गरेको र तालिम दौरानमा सिकेका कुराहरूलाई कार्यक्षेत्रमा सही तरिकाले सदुपयोग गर्नुपर्ने बताए ।
उनले आधारभूत तालिम समापन गरी कार्यक्षेत्र प्रवेश गर्न लागेका सशस्त्र प्रहरी सहायक निरीक्षकहरूलाई पेसागत जीवनको पहिलो खुड्किलो पार गरी राष्ट्र सेवामा प्रवेश गरेको बताउँदै कार्यक्षेत्रमा आइपर्ने चुनौतीहरूलाई सामना गर्न लिएको प्रत्येक कार्य, निर्णय र व्यवहारले व्यक्तिगत छविसँगै सङ्गठनको प्रतिष्ठाको समेत प्रतिनिधित्व गर्ने बताए ।

तालिम भनेको गन्तव्य होइन मार्ग हो, यही मार्गलाई आत्मसाथ गर्दै सशस्त्र प्रहरी कर्मचारीहरू जिम्मेवार, सक्षम र दक्ष अधिकृतको रूपमा रूपान्तर हुनुपर्ने कुरामा जोड दिँदै महानिरीक्षक अर्यालले भने-‘तपाई र तपाईँको परिवारको गौरवले त्यस वेला सार्थकता पाउने छ, जब राज्य र नागरिकको सेवामा परिचालित रहँदा उत्कृष्ट कार्यसम्पादनको दृष्टान्त प्रस्तुत गर्न सक्नुहुनेछ ।’
अर्यालले सशस्त्र प्रहरी बल नेपालले देशको विषम परिस्थिति, शान्ति प्रक्रिया तथा बदलिँदो सुरक्षा चुनौतीहरूमा सहज ढङ्गले रूपान्तरण भई देशको अब्बल सुरक्षा निकायको रूपमा स्थापित भएको बताउँदै वर्तमान सुरक्षा चुनौतीहरू बहु आयामिक र जटिल रहेको हुँदा यस्ता चुनौतीहरूलाई सामना गर्न सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजश्व चुहावट नियन्त्रण, विपद् व्यवस्थापन जस्ता कार्यहरू सबैको मूल मन्त्र बनाउन सकियो भने कार्यक्षेत्रमा सफलता मिल्ने बताए । उनले हामी देशको रक्षक हौँ भन्ने भावनालाई गौरवको साथ मनमा लिई देश र जनताको सेवा र सुरक्षामा कटिबद्ध भई लाग्नुपर्ने बताउनुहुँदै आगामी फागुन २१गतेको चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्न सम्पूर्ण कर्मचारीहरू तयारी हालतमा रहन निर्देशन दिए ।

सोही अवसरमा महानिरीक्षक अर्यालले तालिमका सर्वप्रथम, कवाज र शारीरिक सहिष्णुतातर्फ उत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक विष्णु कुमार तामाङ र चाँदमारीतर्फ उत्कृष्ट सशस्त्र प्रहरी सहायक निरीक्षक अमन सहनीलाई पुरस्कार प्रदान गरेका थिए ।
गत साल कार्तिक ५ गतेबाट सञ्चालन भएको उक्त तालिम ४७ जना सशस्त्र प्रहरी सहायक निरीक्षकहरूले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् ।
कार्यक्रममा नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, तालिम शिक्षालयका समादेशक, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृतहरु, विभिन्न संघसंस्थाका पदाधिकारी, स्थानीय भद्रभलाद्मी तथा प्रशिक्षार्थीका अभिभावकहरुको समेत उपस्थिती रहेको थियो ।











