Logo
Logo

प्रधानमन्त्री र मन्त्रीहरूको रक्षा हामी गर्छौँ: सुदन गुरुङ


2.4k
Shares

काठमाडौं । हामी नेपालका संस्थापक सुदन गुरुङले गृह मन्त्रालयको कामकारबाहीप्रति गम्भीर असन्तुष्टि जनाउँदै सरकार ढाल्ने वा आन्दोलनलाई कमजोर पार्ने कुनै पनि षड्यन्त्रविरुद्ध आफ्नो समूह ढाल बनेर उभिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

The current image has no alternative text. The file name is: sudan-gurung-1.gif

शनिवार सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणामा उनले भने, ‘हामी सरकारलाई रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ, तर नाजुक अवस्थाको फाइदा उठाउन खोज्नेहरूलाई कुनै हालतमा छोड्दैनौँ ।’ गुरुङले गृहमन्त्रीको कामबाट सन्तुष्ट हुन नसक्नु कुनै भावनात्मक आवेग नभई तथ्यमा आधारित असन्तुष्टि भएको स्पष्ट पारे । उनले लेखे, ‘यो गृहमन्त्रीको असक्षमता र गैरजवाफदेहीताको आलोचना हो, न कि आम नागरिक वा आन्दोलनको अनादर, न त सरकार ढाल्ने खेल, न संविधानमाथि धावा ।’

स्कुले पोशाकमै मारिएका बालबालिकाको न्याय, भ्रष्टाचार र राज्य आतङ्कविरुद्ध सडकमा उत्रिएको स्मरण गराउँदै उनले भने, ‘हामीलाई भाषण होइन, परिणाम चाहिएको हो । योग्यताको प्रमाण पदले होइन, परिणामले दिनुपर्छ । वर्तमान गृहमन्त्रीको काम पुराना सरकारजस्तै भयो भने हामी चुप लागेर बस्दैनौँ,’ उनले चेतावनी दिए । 

सरकारलाई सहयोग गर्ने तर प्रतिपक्षमा पनि दह्रोसँग उभिने आफ्नो अडान दोहोर्‍याउँदै उनले भने, ‘सहिद परिवारसँगको वाचा पूरा गर्न हामी आफ्नै सरकारका मन्त्रीलाई प्रश्न गर्न डराउँदैनौँ। हामीलाई कुर्सी होइन, न्याय चाहिएको हो । आज उहाँहरूले जनादेश बिर्सनुभयो भने सोच्नुस्-भोलि अरू पार्टीको हातमा कुर्सी पुग्दा देश कता जान्छ ?’

अन्तरिम सरकारले चुनाव मात्र होइन, आन्दोलनका मागलाई वैधानिकता दिने कदम तत्काल अघि बढाउनुपर्नेमा उनले जोड दिए । यद्यपि, गृहमन्त्रीको आलोचना गर्दैगर्दा प्रधानमन्त्री र जिम्मेवारीपूर्वक काम गरिरहेका मन्त्रीहरूलाई कमजोर पार्ने कुनै खेल सह्य नहुने उनले चेतावनी दिए । 

प्रतिक्रिया दिनुहोस्