
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले वर्तमान कार्यकारी नेतृत्व (पदाधिकारी र सचिवालय) भंग गर्न माग गरेकी छन् ।
चितवनको सौराहामा चलिरहेको केन्द्रीय समितिको विस्तारित बैठकमा कार्कीले पार्टी रिफर्मेसनका लागि चार बुँदे मार्गचित्र प्रस्तुत गर्दै पदाधिकारी तथा सचिवालय भंग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नुपर्ने धारणा राखिन् ।
समितिमा जेनजी, वैकल्पिक शक्तिहरू र बौद्धिक वर्गको प्रतिनिधित्व हुनुपर्ने बताउँदै उनले समावेशीताको अभावबारे उठ्दै आएको आलोचनाबाट पार्टीले पाठ सिक्नुपर्ने बताइन् ।
‘महाधिवेशन आयोजक समिति घोषणापछि पनि केन्द्रीय सचिवालय र पदाधिकरी रहिरहनु र सचिवालय विस्तार समेत गरिनुको आधार स्पष्ट नभएको उनले बताएकी छन् ।
‘महाधिवेशनका लागि सकारात्मक वातावरण निर्माण गर्न पार्टीको मौजुदा कार्यकारी नेतृत्व (पदाधिकारी तथा सचिवालय) भंग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नु पर्दछ,’ उनले भनेकी छन् ।
उनले महाधिवेशन आयोजक समितिमा जेनजी, विभिन्न वैकल्पिक शक्तिहरू एवं बौद्धिक वर्गलाई पनि समावेश गर्नु पर्ने प्रस्ताव राखेकी छन् । पार्टीको हालको कार्यकारी नेतृत्व समूह÷सचिवालय समावेशी हुन नसकेको भनी आलोचना भइरहेको सन्दर्भ पनि उनले उठाएकी छन् ।










