Logo
Logo

सरोज यादव ‘ब्याक डेट’मा मुख्यमन्त्री नियुक्त, होटेलमा शपथ


2.5k
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एक होटेलमै शपथ लिएका छन् । रातारात मुख्यमन्त्री नियक्त भएका नेकपा एमाले संसदीय दलका नेता यादवलाई मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले होटेलमै शपथ गराएकी हुन् ।

भण्डारीले आइतबारको मिति राखेर यादवलाई ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । उनले आज बिहान सबेरै बर्दिबासको पानस होटेलमा शपथ गराएकी हुन् ।

मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएकाले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।

यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुअघि भने प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै आज बिहानै जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी थिइन् । मुख्यमन्त्री सोनलले उनलाई स्वास्थ्य लाभको कामना गर्दै बिदाइ गरेका थिए ।

त्यसक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै सोनलले प्रदेश प्रमुख भण्डारी स्वस्थ भएपछि थप राजनीतिक प्रक्रिया अघि बढ्ने बताएका थिए । तर, लगत्तै प्रदेश प्रमुख भण्डारीले यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र र होटेलमै शपथ गराएको भिडियो सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्