Logo
Logo

प्रहरीकै संरक्षणमा अर्बपति लागुऔषध तस्कर ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ असोज । विगत चार दशकभन्दा लामो समयदेखि लागूऔषध कारोबारमा संलग्न काठमाडौं सीतापाइलाका देवेन्द्र विक्रम रोका छपालीले लागूऔषध कारोबारबाटै करिब एक अर्ब अवैध सम्पत्ति आर्जन गरेको दाबीसहित बिशेष अदालतमा मुद्दा दायर भएको छ । तर, उनलाई विभागले पक्राउ गर्न भने सकेन । उनलाई प्रहरी अधिकारीले नै भगाएको स्रोत बताउँछ ।

उनको सबै नगद र घर जग्गा जफतको मागसहित सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले बुधबार मुद्दा दायर गरेको हो । विभागले करिब चार वर्ष लगाएर उनीमाथि छानबिन गरी मुद्दा दायर गरेको हो ।

वि.स २०३० दशकदेखि लागूऔषधको कारोबारमा संलग्न उनको सम्पत्तिको वैध स्रोत नभेटिएको र पटक–पटक लागूऔषध कारोबारमा संलग्न भएकाले सबै सम्पत्ति अपराधिक गतिविधिबाट कमाएको विभागको दाबी छ । सीतापाइलाको मुल बाटोमा जोडिएको १७ रोपनी जग्गा र त्यहाँ बनेको साढे दुई तले घर, धादिङ नौबिसेको २७ रोपनी, दाङको २७ कठ्ठा जग्गा जफतको माग गरी उनीविरुद्ध मुद्दा दायर भएको छ ।

सीतापाइलाको जग्गाको बजार मूल्य आनाकै करिब ४० लाख रुपैयाँ भएकाले त्यहाँको घर जग्गा अहिले करिब एक अर्ब पर्ने अनुसन्धानमा आबद्ध विभागका अधिकारीहरु बताउँछन् । त्यस्तै, धादिङमा रहेको उनको जग्गाको बजार मूल्य करिब पाँच करोड छ ।

विभागले सबै सम्पत्ति जफत गरी उनीसँग एक करोड पाँच लाख ७२ हजार पाँच सय ५५ रुपैयाँ बिगो उनको १३ वटा बैंक ६४ लाख ६६ हजार समेत जफतको दाबी गरिएको छ । उनले काठमाडौंका जग्गाहरु धेरै वर्षअघि सस्तो मुल्यमा किनिएको र त्यसलाई बिगो मानिएकाले कम भएपछि उनको सम्पत्तिको अहिलेको बजार मूल्य करोडौं रहेको विभागका एक अधिकारीले बताए । सीतापाइलास्थित उनको जग्गा ईन्द्रबहादुर तामाङ तथा प्रमोद प्रसाद प्रधानबाट बकसवात लिएको उल्लेख गरेका छन् । तर, बकस पाएको पुष्टि हुन नसकेकाले त्यसलाई अपराधिक कार्यबाटै आर्जन गरेको विभागले दाबी गरेको छ । तामाङबाट २०४८ सालमा ७ रोपनी ५ आना तथा प्रधानबाट २०३८ सालमा ६ रोपनी १४ आना जग्ग्गा बकसवापत लिएका थिए । करिब ५० करोड पर्ने विभागका अधिकारीहरु बताउँछन् । तर त्यतिखेर लिखतमा उल्लेखित मूल्य ४४ हजार पाँच सयलाई बिगोका रुपमा लिइएको छ । सीतापाइलामा साढे ६ रोपनी जग्गामा उनको घर बनेको छ । भिमढुंगामा थप एक रोपनी जग्गा भेटिएको छ । उनको बा २ च ६१७० नम्बरको गाडीलाई पनि जफतको माग गरिएको छ । उनीबाट विभागले ४९ हजार नेपाली र सात हजार भारु समेत बरामद गरेको थियो । विभागले उनको सम्पत्तिलाई समेत बिगो दाबीको प्रस्ताव गरेपनि बिशेष सरकारी वकिल कार्यालयले भने जफतको मात्र दाबी गर्ने निर्णय गरेको स्रोत बताउँछ । विभागले उनको जापान र हङकङमा रहेको बैंक खाताको समेत अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन(इन्टरपोल)मार्फत जानकारी लिएको थियो । अपराधिक गतिविधिको पैसा उनले ती खातामा जम्मा गर्ने विभागको दाबी छ ।

पक्राउ पर्ने डरले उनी गत वर्ष भारत भागेका थिए । केही समययता नेपालमा लुकेर बसेको स्रोत बताउँछ । केही प्रहरीले साथ दिएकाले उनले केही सम्पत्ति लुकाउन सफल भएका छन् । प्रहरीकै सल्लाहमा उनी घर छाडेर अन्यत्र बस्दै आएका छन् । भूमिगत रहेकै अवस्थामा बिशेष सरकारी वकिल कार्यालयमा चलखेल गरी आफ्नो बिगो रकम घटाउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्