
काठमाडौं । ‘जेन–जी मुभमेन्ट’ले ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न माग गरेको छ । भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्सान हुनेगरी विद्युत खरिदबिक्री सम्झौता गरेको भन्दै ‘जेन–जी मुभमेन्ट’ले मन्त्री घिसिङलाई बर्खास्ती गर्न माग गरेको हो ।
‘ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ । प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्वन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्छ ।’
जेन–जी मुभमेन्टले राष्ट्रघाती सम्झौतामा संलग्नहरूलाई जेल हाल्न र राज्यका सम्पती फिर्ता गराउन कानुनी प्रक्रिया तुरुन्त सुरु गर्न समेत सरकारसँग माग गरेको छ ।











