धनुसा । धनुषाको हंसपुर नगरपालिका–७ नौवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमका अनुसार सोमबार घरबाट करिब ५०० मिटर टाढा खेतमा उनको शव भेटिएको हो ।
प्रारम्भिक अनुसन्धान अनुसार चन्द्रकलाको अनुहार र टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीको भनाइ छ । सोमबार राति करिब ९ बजे घटना बारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
मृतकले लगाएका सुनचाँदीका गरगहना समेत लुटिएको अवस्थामा शव भेटिएको र प्रहरीले ती गहना बरामद गरेको जनाएको छ । घटनापछि प्रहरीले एक जनालाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।










