काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफूलाई स्थानहद निर्धारण र राहदानी रोक्का गरिएको विषयमा कुनै लिखित वा मौखिक जानकारी प्राप्त नभएको बताएका छन्।

उनले दुई महिना अघि मात्र समाचारमार्फत आफू र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पासपोर्ट रोक्का गरिएको र स्थानहद गरिएको थाहा पाएको बताए।
पूर्वगृहमन्त्री लेखकले जेनजी आन्दोलनमा राज्य पक्षको दमनको जिम्मेवारी लिन अस्वीकार गर्दै सुरक्षा संयन्त्रलाई कुनै अप्रिय घटना नहोस् भनेर सतर्क गराएको दाबी गरेका छन्। उनले बैठकमा गृहसचिव र प्रहरी महानिरीक्षकलाई पटक–पटक “क्याजुअलिटी नहोस्” भनी सचेत गराएको र यसबारे नेपाल प्रहरीका महानिरीक्षकले पनि सञ्चारमाध्यममा उल्लेख गरेको बताए।
लेखकले भने, “प्रधानमन्त्री र मन्त्रीले आदेश दिने विषय पनि होइन र दिनु पनि पर्दैन। मैले सुरक्षा संयन्त्रलाई कुनै अनावश्यक घटना नहोस् भनेर लगातार सचेत गराएको छु।” उनले आफ्नो भूमिका केवल सुरक्षा संयन्त्रलाई मार्गदर्शन गर्नेमा सीमित रहेको र राजनीतिक वा दमनसँग उनको कुनै सरोकार नभएको प्रष्ट पारे।











