काठमाडौं । सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’बीच सिंहदरबारमा वार्ता भएको छ । वार्ताका क्रममा प्रसाईं समूहले आउँदो मंसिर ७ गते हुने आन्दोलन शान्तिपूर्ण हुने प्रतिबद्धता जनाउँदै २७ बुँदे मागपत्र गृह मन्त्रालयमा बुझाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले संवैधानिक दायराभित्र रहेर मागहरू सम्बोधन गर्ने सरकारको सकारात्मक धारणा रहेको बताए । प्रसाईं समूहले दल दर्ता गरेर आगामी चुनावमा सहभागी हुने तयारी गरिरहेको पनि बताएको छ ।
उनका मागहरूमा हिन्दु अधिराज्यसहितको संवैधानिक राजसंस्था पुनःस्थापना, संघीय संरचना खारेज, पुराना विकास क्षेत्र र अञ्चल प्रणाली कायम, बैंक तथा वित्तीय संस्था राष्ट्रियकरणजस्ता विषयहरू समावेश छन् ।
प्रसाईं समूहका तर्फबाट माधवप्रसाद खतिवडाको नेतृत्वमा भएको वार्ता करिब दुई घण्टा चलेको थियो । खतिवडाले माग पूरा नभए आन्दोलन निरन्तर हुने बताए ।
सुरक्षा निकायहरूले भने प्रसाईं समूहको आन्दोलन हिंसात्मक हुन सक्ने आकलन गरेका छन् । सुकुम्बासी बस्ती र अन्य असन्तुष्ट समूहहरूलाई समेटेर आन्दोलन गरिने योजना रहेको आशंका गरिएको छ ।










