
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११ः ३० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा सुरु भएको बैठक निर्णयमा पुग्न सकिरहेको छैन ।
यसअघि बुधबारको बैठकमा सहमहामन्त्री महेन्द्र यादवसहित ११ केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । बैठकमा विजय गच्छादारले पुसभित्र नियमित महाधिवेसन गर्नुपर्ने धारणा राखेका थिए भने रमेश लेखकले विशेष महाधिवेशनमा जान नहुने बताएका थिए ।
त्यस्तै बैठकमा जितजंग बस्नेतले विशेष महाधिवेशन गरेर महामन्त्रीद्वयले पार्टी कब्जा गर्न खोजेको आरोप लगाएका थिए । त्यस्तै विमलेन्द्र निधि लगायतले चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए ।
त्यसैगरी श्याम घिमिरेले संसद पुनस्थापनामा जानुपर्ने धारणा राखेका थिए । कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् ।
संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् ।










