काठमाडौं । राप्रपाको केन्द्रीय अनुशासन समितिले पार्टीको निर्देशनविपरीत मधेश प्रदेशको मन्त्री बनेकी कञ्चन विच्छालाई सांसद पदबाट हटाउन सिफारिस गरेको छ । समितिकी अध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बिहीबार बसेको बैठकले उनलाई सांसद पदबाट फिर्ता बोलाउने र पार्टीको साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्न सिफारिस गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

अनुशासन समितिको यो निर्णय अब बस्ने कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेपछि मात्र लागू हुनेछ । श्रेष्ठका अनुसार उक्त बैठक केही दिनभित्रै बस्नेछ । यसअघि पार्टीले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो, तर निर्धारित समयभित्र जवाफ नआएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्री पदबाट फिर्ता हुन निर्देशन दिएका थिए ।
विच्छाले सो निर्देशनको पनि बेवास्ता गरेकी थिइन् । राप्रपाबाट मधेस प्रदेशको एकमात्र सांसद उनी सरोजकुमार यादव नेतृत्वको विवादास्पद सरकारमा पार्टीको स्वीकृतिबिना मन्त्री बनेकी थिइन् ।











