काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मर्मतका लागि इजरायल पठाइएको नेपाल वायु सेवा निगमको ए-३२० जहाजको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न निर्देशन दिएकी छन् । निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर प्रधानमन्त्री कार्कीले आफ्नो इन्जिन इजरायलमा थन्क्याउने र भाडाको इन्जिन ल्याएर जहाज चलाएको भन्दै यस्तो चेतावनी दिएकी हुन् ।

‘उता आफ्नो इन्जिन त्यसै थन्किएर बसेको छ । यता भाडा बढेको बढ्यै छ। यस्तो पनि हुन्छ ?’ उनले भनिन् । ‘सञ्चालक समितिले निर्णय गरेर हुन्छ वा व्यवस्थापन तहबाटै काम हुन्छ, जसरी पनि नतिजा दिनुपर्छ । कुनै प्रक्रियागत बहाना नगरौँ । यो जनताको पैसा लगानी भएको संस्थालाई नै ग्राउन्डेड गर्ने अवस्था आउन दिनुहुँदैन,’ उनले भनिन् ।
देश, जनता र संस्थाको पक्षमा निर्णय गर्दा नडराउन पनि प्रधानमन्त्री कार्कीको आग्रह छ । उनले भनिन् ‘मुद्दा लाग्ला कि भनेर असल काम गर्न डराउनुहुँदैन । गलत काम गर्दा मात्र डराउनुहोस् ।’
नेपाल वायु सेवा निगमको ए-३२० जहाजको इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो । त्यसका बदलाव मर्मत गर्ने कम्पनीबाटै अर्को इन्जिन भाडामा झिकाएर निगमले विमान सञ्चालन गर्दै आएको थियो । इन्जिनको भाडा समेत नतिरेको र मर्मत भइसकेको इन्जिन नलगेको भन्दै इजरायली कम्पनीले समेत निगमलाई ताकेता गरेको थियो ।











