
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । पार्टीको महाधिवेशनबारे जारी विवादमा सहमति खोज्न केन्द्रीय बैठक बस्न लागेको हो ।
बैठक ललितपुरको धोबीघाटमा दिउँसो १ बजे बस्ने कांग्रेसले जनाएको छ । कांग्रेसमा २१ फागुनका लागि तय भएको निर्वाचनअघि पार्टीको महाधिवेशन गर्ने गरी तालिका ल्याउने वा नल्याउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । सोही विषयमा सहमति जुटाउन बैठक बस्न लागेको हो ।
२८ असोजदेखि सुरू भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा चुनावअघि महाधिवेशन गर्नुपर्ने र गर्न नहुने विषयमा नेताहरू विभाजित छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षमा रहेकाहरू आगामी पुसभित्र नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।
महामन्त्री थापाले बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा विशेष महाधिवेशनका लागि २७ मंसिरको मिति प्रस्ताव गरेका थिए । यस्तै अर्का महामन्त्री शर्माले नियमित महाधिवेशन नगरिए पुसभित्र विशेष महाधिवेशन गर्नुपर्ने विधानतः बाध्यता रहेको धारणा राखेका थिए ।











