
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दर्ता गर्न आव्हान गरेको छ ।
आयोगले शुक्रबार छुट्टाछुट्टै सूचना जारी गर्दै दुवै सदनको निर्वाचनका लागि राजनीतिक दलहरूलाई दल दर्ता गर्न आव्हान गरेको हो ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा र माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तय भएको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न सकिनेछ ।
आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता भएको मिति लगायतका आवश्यक कागजातसमेत खुलाउन भनेको छ । साथै प्रतिनिधिसभा निर्वाचनका लागि २ वा २ भन्दा बढी दल एकै चुनाव चिह्न लिएर भाग लिन चाहेमा त्यससम्बन्धी जानकारी पनि सोही निवेदनको साथमा बुझाउन भनिएको छ ।













