
काठमाडौं । वाम एकता प्रक्रियाबारे विभिन्न भ्रम फैलिएको भन्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले स्पष्टीकरण दिएको छ ।
प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत एक दर्जनभन्दा बढी वाम विचारधाराका पार्टी एकीकृत भएर नयाँ नेपाली कम्युनिस्ट पार्टी निर्माणको प्रक्रिया अघि बढिसकेको बताउँदै आम चुनावका लागि दल दर्ता अनिवार्य भएपछि निर्वाचन आयोगमा बुझाइएका विवरणबारे केही अनावश्यक भ्रम फैलाएको बताएका हुन्।
‘पार्टी संयोजक र सह–संयोजक बाहेकका सबै पद तथा संरचनाहरू आपसी सहमतिका आधारमा गठन हुनेछन् । त्यसका लागि गृहकार्य जारी छ’, आचार्यले भनेका छन् । उनका अनुसार दल दर्ताका लागि आयोगमा पेश गरिएको सूची एकतापूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको हो ।
कानुनअनुसार एक–तिहाइ महिला सदस्य अनिवार्य समावेश गर्नुपर्ने भएकाले तत्काल उपलब्ध भई हस्ताक्षर गर्न पुगेका १३ जना महिला सदस्यको नाम सूचीमा थपिएको सचिवालयले स्पष्ट पारेको छ । सचिवालयले आयोगमा प्रस्तुत सूचीलाई लिएर कुनै पनि भ्रममा नपरी एकता अभियान पूरा गर्न दृढ रहन सबैमा आग्रह गरेको छ ।











