
काठमाडौं । मकवानपुरमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका दुवै जनाको परिचय खुलेको छ । आज बिहान भीमफेदी गाउँपालिका–१, बुङदलमा मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको अवस्थामा फेला परेका दुई जनाको परिचय खुलेको हो ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल बस्ने मोटरसाइकल चालक ३९ वर्षीय वीरबहादुर गुरुङ र स्थायी ठेगाना पूर्वी नवलपरासी, कावासोती–१३ भई हाल हेटौँडा–१, चौकीटोल बस्दै आएका ३५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन् ।
दुवै जनाको सनाखत उनीहरूका श्रीमतीहरूले गरेको मकवानपुर प्रहरीले जनाएको छ । आज बिहान करिब ७ बजे बुङदल खोलाको पुलबाट करिब ५० फिट तल खसेको बा.प्र. ०३–००५ प ७९८० नम्बरको मोटरसाइकल दुर्घटनामा दुई पुरुषको घटनास्थलमै मृत्यु भएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।














