Logo
Logo

उपचारबाट फर्केलगत्तै पार्टीको विवाद मिलाउन देउवा सक्रिय


945
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारबाट फर्के लगत्तै भेटघाटमा सक्रिय भएका छन् । शुक्रबार राति सिंगापुरबाट फर्केका देउवाले शनिबार संस्थापन पक्षका चार नेतासँग सामूहिक छलफल गरेका हुन् ।

जेनजी आन्दोलनका क्रममा निजी निवास तोडफोड र आगजनी भएपछि चुनदेवीस्थित भाडाको घरमा बस्दै आएका देउवाले पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, एनपी साउद, बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई बोलाएर पार्टीको महाधिवेशन विवादबारे छलफल गरेका हुन् ।

दुई घण्टा बढी भएको छलफलमा सभापतिले पार्टी महाधिवेशन विवादका बारेमा जानकारी लिएकाे प्रवक्ता महतले जानकारी दिए । कांग्रेसमा संस्थापन पक्षका शीर्ष नेताहरू चुनावपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवेशन हुन नसके विशेषमा जानुपर्ने अडान राखिरहेका छन् ।

संस्थापन इतरका नेता डा.शेखर कोइराला चुनावअघि नियमित महाधिवेशनको पक्षमा छन् । चुनाव अघि वा पछि महाधिवेशन गर्नेमा संस्थापन पक्षमा समेत एकमत देखिएको छैन । संस्थापन पक्षका २४ केन्द्रीय सदस्यले चुनाव अघि महाधिवेशन गर्नुपर्ने बैठकबाटै निर्णय गरेर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ज्ञापनपत्र बुझाएका छन् । देउवाले पूर्वपदाधिकारी र संस्थापन पक्षका २४ केन्द्रीय सदस्यहरूसँग पनि छुट्टै भेट्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्