एजेन्सी । मेक्सिकोमा जेन–जी समूहले छेडेको आन्दोलन तीव्र बन्दै गएको छ। हिंसा र भ्रष्टाचारविरुद्ध हजारौँ युवा सडकमा उत्रिएपछि त्यहाँको राजधानी मेक्सिको सिटी तनावग्रस्त बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हिजोको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच तीव्र झडप भएको बताइएको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा र लाठी प्रहार गर्नुका साथै सुरक्षाकर्मीका केही सुरक्षा सामग्री र उपकरण समेत कब्जा गरेको उल्लेख गरिएको छ । आन्दोलनलाई विपक्षी दलका पुराना समर्थकहरूले पनि खुला समर्थन दिएको बताइन्छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले २० जनालाई पक्राउ गरेको छ भने केही घाइतेको उपचार भइरहेको छ ।
उरुआपानका मेयर कार्लोस मान्जोको सार्वजनिक रूपमा गरिएको हत्यापछि सुरु भएको यो जेन–जी आन्दोलन देशभर फैलिएको हो । अपराधविरुद्ध कडा छवि बनाएका मेयरको नोभेम्बरको सुरुतिर हत्या भएपछि बढ्दो हिंसा र सरकारी उदासीनताका विरुद्ध युवाहरू सडकमा उत्रिएको बताइएको छ।











