Logo
Logo

पशुपति क्षेत्रमा बाला चतुर्दशीका लागि तयारी सुरु


567
Shares

काठमाण्डौ । विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वका लागि आवश्यक तयारीहरू सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापनलगायत आयोजनाका कामलाई व्यवस्थित गर्न सरोकार भएका निकायसँग बैठक गरी आवश्यक जिम्मेवारी बाँडफाँड गरिएको कोषले बताएको छ।

The current image has no alternative text. The file name is: pashupatinath.gif

दिवङ्गत पितृको सम्झनामा पर्सि मङ्गलबार रातभर दीप प्रज्वलन र बुधबार शतबीजारोपण हुने भएकाले ती सबै कार्यक्रमलाई सहज बनाउन तयारी तीव्र पारिएको कोषको भनाइ छ। परम्पराअनुसार मंसिर कृष्ण त्रयोदशीका साँझ पितृ स्मरणमा दीप प्रज्वलन गरिन्छ भने चतुर्दशीका बिहान शतबीज छर्ने चलन छ।

कोषका अनुसार चारै ढोका, पश्चिम मूलद्वार र बाहिरी क्षेत्रका प्रवेशद्वारहरूमा दीप प्रज्वलनको व्यवस्था मिलाइनेछ। रातभर जाग्राम बस्न चाहनेका लागि पाल र उपलब्ध अन्य स्थान निःशुल्क उपलब्ध गराइने छ, साथै कसैले पनि शुल्क उठाउन नपाउने स्पष्ट निर्देशन जारी गरिएको कोषका निमित्त सदस्य–सचिव सुभाषचन्द्र जोशीले जानकारी दिए।

शतबीज छर्ने क्रममा मन्दिर प्राङ्गण, मुख्य क्षेत्रभित्र, ढुङ्गा छापेका तथा पीच गरेका स्थानमा नछर्न र सकेसम्म बीउ उम्रन सक्षम खाली ठाउँमा मात्र छर्न भक्तजनलाई अनुरोध गरिएको छ। जाँड-रक्सी तथा अन्य नशालु पदार्थको बिक्री, वितरण र सेवन पूर्ण रूपले प्रतिबन्धित गरिएको छ।

अनुगमनका लागि कडा व्यवस्था मिलाइएका छन् । त्यसैगरी भड्किला गरगहना तथा छालाका जुत्ता–चप्पल नलगाउन भक्तजनलाई आग्रह गरिएको छ। प्रहरी शिविरसँगै एम्बुलेन्स सुविधा सहित स्वास्थ्य शिविर स्थापना गरिने, खानेपानी, नुहाउने स्थान तथा पर्याप्त विद्युत् व्यवस्थासमेत सुनिश्चित गरिने कोषले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्