काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ पुस्ताको भावना अनुसार काम गर्न र उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी कार्यसम्पादन गर्न आफू मातहतका निकायहरूलाई निर्देशन दिएका छन् ।

आइतबार गृह मन्त्रालयमा गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको नियमित ‘एसएमटी’ बैठकमा मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीहरूलाई सक्रिय (एक्टिभिस्ट) रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै निर्वाचन र यसको तयारीमा पूर्ण ध्यान केन्द्रित गर्न निर्देशन दिएका हुन् । उनले भने, ‘यो सरकार निर्वाचनकेन्द्रित सरकार हो । पुरानै संरचना र ऐन-नियममा मात्र सीमित नरही प्रविधिको अधिकतम प्रयोग गर्दै निर्वाचनलाई सहभागितामूलक बनाउने र जनतालाई मताधिकारको सुनिश्चितता प्रदान गर्ने गरी जिम्मेवारी बहन गर्न निर्देश गर्दछु ।
उनले विभागीय प्रमुखहरूलाई मातहतका कार्यालयहरूको जिम्मेवारी प्रभावकारी ढङ्गले सम्हाल्न आग्रह गर्दै भने, ‘कर्मचारीहरूले जनसरोकारका विषयमा बढी चासो राख्ने, सम्बन्धित ठाउँमै पुगेर सेवाग्राहीको काम सम्पादन गर्ने र परिवर्तनको अनुभूति हुने गरी सेवा प्रवाहमा केन्द्रित हुनुपर्छ।’ मन्त्री अर्यालले मन्त्रालयमा स्थापित जेनेरेसन-जी समन्वय समिति र पीडितहरूका गुनासा सुन्ने तथा सम्बोधन गर्ने कामलाई प्रभावकारी बनाउन सकेमात्र बाहिरी भ्रमपूर्ण भाष्यलाई चिर्न सकिने भन्दै मातहतका निकायलाई निर्देशन दिए ।
बैठकमा उनले घाइतेहरूको राहत कार्यविधि छिट्टै टुङ्ग्याउने र जेनेरेसन–जी घाइतेहरूलाई फिल्डमै राहत कार्ड वितरण गर्न निर्देशन दिए । गृहसचिव दंगालले मन्त्रालय र मातहतका कर्मचारीहरूको कार्यसम्पादनमा सन्तुष्टि व्यक्त गर्दै आफूले जिम्मेवारी सम्हालेपछि राष्ट्रिय परिचयपत्र नियमावली, सशस्त्र प्रहरी नियमावलीलगायत दर्जनौँ नियमावली संशोधन भइसकेको तथा नागरिकता नियमावली अन्तिम चरणमा पुगेको जानकारी दिए । सचिव दंगालले मातहतका प्रमुखहरूलाई मन्त्रालयको तत्काल सुधार कार्ययोजना प्राथमिकतामा राखी काम गर्न निर्देशन दिए ।
भदौ २३ को घटनापछि मन्त्रालयको काम गर्ने शैलीमा उल्लेखनीय सुधार आएको उल्लेख गर्दै उनले सोही भावना कायम राख्न कर्मचारीहरूलाई आग्रह गरे ।














