काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मालाई ऐनामा आफ्नो अनुहार हेर्न सुझाव दिएका छन् । आइतबार नवगठित नेपाली कम्युनिस्ट पार्टीको पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठक पेरिसडाँडामा बसेको थियो । बैठकपछि नेता खनालले यस्तो बताएका हुन् ।

उनलाई पत्रकारहरूले सोधेका थिए, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले तपाईँहरूलाई वृद्धहरूको पार्टी भन्नुभयो नि ।’ जवाफमा खनालले नेपाली कम्युनिस्ट पार्टी सिङ्गो जनताको हितमा लड्ने पार्टी भएको बताए । सर्वहारा श्रमिक वर्गको पार्टी बनाएको उनले बताए ।
‘यो बुढापाकाहरूको मात्रै पार्टी होइन । यो युवाहरूको पार्टी पनि हो, बच्चाहरूको, महिलाहरू, पुरुषहरू सबै आम जनताको पार्टी हो,’ खनालले भने, ‘यो पार्टीलाई कसैले पनि बुढापाकाको पार्टी नभने हुन्छ । बरु आफ्नो अनुहार ऐनामा हेर्नु सबैभन्दा राम्रो हुन्छ ।’
खनालले आजको बैठकमा विशेष अपानि जारी गरेर पार्टीलाई एकढिक्का बनाउने विषमा कुराकानी भएको बताए । त्यस्तै पार्टीले विभिन्न प्रदेश र जिल्ला तथा पालिकामा सन्देश सभा आयोजना गर्ने उनले बताए ।
उनले देशव्यापी एकताको सन्देश प्रवाह गर्न अपिल समेत प्रकाशित गर्ने निर्णय भएको बताए । सन्देश सभाहरूबारे थप छलफल गरेर तयारी गर्ने भन्दै खनालले नेपाली विशेषताको समाजवादको यात्रामा जाने बताए ।
‘नेपाली विशेषताको समाजवाद स्थापना गर्ने हाम्रो एकमात्र अर्जुनदृष्टि हुनेछ’, खनालले भने, ‘अशोक राई र उपेन्द्र यादवको पाटीसँग कुराकानी भइरहेको छ केही दिनमा उहाँहरूको पार्टी एकता हुनेछ ।’














