काठमाडौं । नेपाल विज्ञापन बोर्डको निर्देशनविपरीत त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन जुवा तथा बेटिङ साइट ‘डाफा न्यूज’ को ठूलो विज्ञापन बोर्ड देखिएको छ ।

गत भदौ १ गते बोर्डले नेपाल क्रिकेट सङ्घ (क्यान) लाई पत्र पठाउँदै यस्ता बेटिङ साइटको विज्ञापन नगर्न कडा निर्देशन दिएको थियो । यो निर्देशन पहिलो एनपीएलमै डाफा न्यूज, वानएक्सबेट, वुल्फ ७७७ जस्ता जुवा साइटका विज्ञापन खेलाडीको जर्सी र मैदानमा देखिएपछि आएको थियो ।
उजुरी परेपछि बोर्डले छानबिन गर्दा बेटिङ कम्पनीका विज्ञापन एजेन्सी ब्राण्ड डिजिटल लजिक प्रालि (ललितपुर) र टिसिएस स्पोर्ट्स एण्ड मार्केटिङ प्रालि (टंगाल) लाई जनही १० हजार जरिवाना र तीन महिनासम्म विज्ञापन कारोबारमा रोक लगाइएको थियो ।
तर, अहिले फेरि सोही ‘डाफा न्यूज’ को विज्ञापन त्रिवि मैदानमा देखिएको छ । यसबारे विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।














