काठमाडौं । राष्ट्रिय परिचय पत्रसँग प्रत्यक्ष रूपमा जोडेर व्यक्तिगत स्थायी लेखा नम्बर प्यान आफैँले अनलाइनमार्फत प्राप्त गर्न सकिने प्रणाली औपचारिक रूपमा सुरु गरिएको छ।

अर्थमन्त्री रामेश्वर खनालले कर दिवसका अवसरमा सोमबार उक्त प्रणालीको शुभारम्भ गर्दै वार्षिक ४० लाखसम्म आय हुने एकल रोजगारदाताका लागि क्यूआर कोडसहितको अनलाइन कर चुक्ता प्रमाणपत्र बुझ्ने व्यवस्था पनि सुरु गरिएको जानकारी दिए।
उनका अनुसार नेपाललाई अन्तर्राष्ट्रिय रूपमा आकर्षक लगानी गन्तव्य बनाउने उद्देश्यले पूर्वानुमानयोग्य नीति, नीतिगत स्थिरता र संरचनागत सुधारलाई मन्त्रालयले प्राथमिकताका साथ अघि बढाएको छ।














