काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन् । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौलाले सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर भेटघाट गरेका हुन् ।

कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले चिया–कफी खान गएका बताउँदै अनौपचारिक कुराकानी भएको बताए । संसद् पुनर्स्थापना र आगामी निर्वाचनको सम्भावनाबारे पनि छलफल भएको घिमिरेले बताए । संविधान संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्छ भन्ने पक्षमा आफू रहेको घिमिरेले बताए । घिमिरेले आफू स्पष्ट रूपमा संसद् पुनर्स्थापनाको पक्षमा रहेको बताउँदै पहिले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताएका छन् ।
गत २७ भदौमा प्रतिनिधिसभा विघटन भएको थियो । आगामी २१ फागुनमा निर्वाचन तोकिएको छ । निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ भने ६ माघमा मनोनयन दर्ता हुँदै छ । दल दर्ताका लागि आजदेखि १० मंसिरसम्मको समय तोकिएको छ ।
कांग्रेस र एमालेभित्र संसद् पुनर्स्थापना वा निर्वाचन भन्ने विषयमा मत बाँडिएको छ । दुवै दलले विघटित सांसदहरूबाट पुनर्स्थापनाको पक्षमा हस्ताक्षर संकलन गरेका छन् । यही विषयमा थप छलफल गर्न एमालेले मङ्गलवार दिउँसो १ बजे च्यासलमा विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठक बोलाएको छ ।














